मेरो आमाले भन्नू भएको .. मेरो मामाघर, जीवन बृतान्त

एकदिन १०१ वर्षको मेरो आमाले भन्नू भएको ...मेरो मामाघर
   आमाको जन्मथल‍ो
      म अहिले ६३ वर्ष लागें तर आज सम्म पनि मईले आफ्नो मामा घर कहाँ हो यकिन थाहा पाउन सकेको छैन । मामाघर कहाँ भनेर थाहा नहुने म मामाघर पुगेकोत पक्कै हुन्ननै । अहिले मात्र हैन म सानू छँदानै आमाले आफ्नो माईति घर यहाँ पर्छ भनेर यकिनका साथ भन्न सक्नु हुन्न थियो । अहिले त आमा सय वर्ष नाघि सक्यो  कुर‌ै भएन ।
     आमाको आमा बित्नु भए देखिनै आज सम्म  पनि आमा आफ्नो माइत जानू भएको छैन । म आमाको गर्भमा बस्नु भन्दा धेरै अघिनै मेरो मामाली हजुर आमाको मृत्यु भैसकेको कुरा भन्नुहुन्छ आमा । आमा आफ्नाो जन्म घरका बारेमा भन्ने गर्दा, आमाको हजुर बुबा शिद्धि दास श्रेष्ठ र बाबू मानकाजीको जिउनी सम्म गाउँको जिम्मावाल हुनुहुन्थियो रे  एकमुरी धानको बीउ रोप्ने धान खेत थियो रे   (भूमिप्रशासन ऐन लागू नहुँदा सम्म पूर्व पहाडि भेगका जग्गाजमिनको तिरो असुली सरकार समक्ष बुझाउने उत्तरदायित्व बोकेकालाई जिम्मावाल भन्थे ) । रोपाई गर्दा खेताला खोज्न पर्दैनन्थोरे । हामी जिम्मावालको खेतको रोपाई गर्ने भए पछि सारा गाउलेहरु आई निशुल्क रोपाई गर्न आउँथियोरे । आमाको त्यस्तो कुरा सुन्दा अचम्म लाग्थ्यो  हामीलाई ।
       बुबा मानकाजीको मृत्यु पछि खेत सबै छाती भन्नेले लिएर जिम्मावालनै खोसियोरे । अनितः   आमाको आमा संग एकपाथी धानको बीउ लाग्ने धानखेत र एकपाथी मकैको बीउ लाग्ने मकैबारी मात्र बाँकि रह्योरे । मेरो आमा भन्नू हुन्छ,  आमाको आमाको नाम हेराथकु रे । आमाबाबुको चार छोरा  छोरीमा १.जेठी बालकुमारी २.छोरा क्षेत्र बहादुर ३. माहिली छोरी आमा मानकुमारी र ४.कान्छी छोरी चन्द्र रहेकोमा दाजु क्षेत्रबहादुर चौध वर्षको उमेरमा मृत्यु हुनु भएको भन्नू हुन्छ । दिदी बालकुमारी र आफ्नो बिवाह भक्तपुरमा भएको बहिनी चन्द्रको संखुमानै भएक‍ो भन्नू हुन्छ  । आमा भन्नुहुन्छ म र बहिनी चन्द्रको एउटै घरपरिवारको म काका संगर र बहिनीको भतिजा संग बिवाहा भएको भएतापनि पछि बहिनीले त्यहाँ छाडेर संखुमा गएको भन्नुहुन्छ ।
          मामा घर कहाँ भनेर सोध्दा पूर्व दच्चो हुँद‌ै पाँगु शिखर ,रोसिखोलाको झोलुङ्गे पुलबाट र खहरे खोला समेत तरेर  जानू पर्ने शिखरअनि अधेरी खोला लगायत कता कताको नाम भन्नू हन्छ तर यकिनका साथ यहिंनैे हो भनेर भन्न आमा सक्नु हुन्न । आमाको जन्मघरका बारेमा यकिनका साथ भन्न सक्ने कोहि नहुँदा बाध्यताबंश  ०४५ सालमा आमाको नागरिक्ता लिन्दा मैल आमाको जन्म थलो भक्तपुर लेखाएर नागरिक्ता लिन बाध्य भएको थियो ।
आमाको बाल्यकाल
     आमा आफ्नो बाल्यकालो अवस्थामा आफुले भोगेका अनि अनुभवका बारेमा यसो भन्नू हुन्थ्यो -  आमाको तीन दिदी बहिनीहरु मध्यका माहीली ठूली आमाको काठमाण्डौको भेडासिंमा विवाह भएको थियो ।  दस वर्षको उमेरमा मामा कुलनारायण संग एकदिन काठमाण्डौमा  ठूली आमा भेट्न आएको थियो । फर्कने क्रममा   अचानक आकाश कालो हुँदै हुरिवतास संगै मूसलधारे पानी पर्न थालेको थियो । म डराउँद‌ मामाको हात समाएर घर तर्फ  फर्कन्दै थिएँ । घर पुग्न एकरात बास बस्नु पर्थ्यो । जति छिटोछिटो  हिडे पनि ठूला मान्छेलाई एकदिन भन्दा बढीनै समय लाग्थ्यो ।अहिले जस्तो नतः मोटर थियोन मोटर बाटोनै थियो । उकाली वराली चर्दै झर्दै  धेरै हिड्नु पर्थ्यो त्यो पनि नाङ्गो खुट्टाले ।
       मूसल धारे पनाी पर्द‌ै थियो । आकाश भयङ्कर कालो हुन्दै गएको थियो । म भयभीत हुँदै  छिटोछिटो मेरा साना पाइला चाल्दै अघि बढ्द‌ै थिएँ । मामाले मलाई मामाको लुगाको एकछेउ कसेर समाउन लगाई  नछाड्न भन्नुभयो  । मैलेपनि मामाको लुगाको एक फेद(टूपो) कस्सिएर समातेर  पाईला  छिटोछिटो चाल्दै अघि बढ्दै गएँ । मामा केही बरबराउँद‌ै गरेको मैले सुने । हामी छिटोछिटो  हिड्दै गर्दा लामो दूरी हिँडेको चालै नपाउँद‌ै एकरात बासेर मात्र पुग्ने घर त्यहि दिन साँझ नपर्दै हामी घर आँगनमा पुगिसकेको रहेछ । आमा भन्नू हुन्छ मामा तन्त्रमन्त्रमा निपूण थिएरे । मामाले तन्त्र शिद्धिका सहायताले एकदिन र आधादिनको बाटोलाई दोब्र्याएर छोटो पारेर( नेवाः(नेपाल भाषा) भाषामा यसलाई लँ त्वाथलेगु, लँ फ्यायेगु भन्दा रहेछन् ) बाटो छोट्याएको रहेछन्  । यसरी एकदिन र आधादिन हिड्नु  पर्ने कथिन टाढाको  बाटोलाई मामाले आफ्नो तन्त्र सिद्धिले सहज पार्द‌‌ै केही घण्टामै घर पुर्याएको बाल्यकालको त्यो अनुभूती आज पनि आमा हामीलाई  सुनाउन् गर्नुहुन्छन् ।
आमाको जन्म
      आमा कहिले जन्मनु भएको वा कति सालको जन्म भनेर सोध्दा । कार्तिकमा जन्मेको आमाले भनेको साल चाहिँ थाहा छैन। तर  ०९० सालको  महाभुकम्पमा आमा १२ वर्षको थिएँ भन्नुहुन्छ ।   महाभुकम्प समयको त्यो बाल्यकालको  समय संझँदै आमा भन्नुहुन्छ । मामा, काकी नाता पर्नेकी छोरी लाटी दिदी र म समेत बस्तुभाउ चराउँद‌ै थिएँ । गाई, बाख्रा, बाख्रीहरु चर्द‌ै थिए । हामी भने अजङको एउटा विशाल ढुङ्गामाथी बसेका थियौं । अचानक हामी बसिरहेको त्यो अजङको ठूलो ढुङ्गा जोरसित हिलिन थाल्यो । बास्तुभाउ पनि चिच्यायर कराउन थाल्यो । ढुङ्गा हलिए पछि हामी खस्नलाग्यो भन्दै लाटी दिदी र म अतालिएर रुन थाल्यौं । हतपत मामाले हामी दुई दिदिबहिनीलाई च्पापेर त्यो ठूलो ढुङ्गाबाट तल मैदामा हामफालेर सुरक्षित स्थानमा लगेर राख्नु भयो । हामी तल मैदानमा आए पछि  सबै बस्तुभाउ पनि  हामी संगै चारैतर्फ आएर   आतालिएर कराँद‌ै घेरेर बसेको भनेर तात्कालिक  महाभुकम्पको समयमा आफुले भोगेका कुराहरु  सुनाउनुहुन्छ ।
आमाको जवानीको सम्झना
     बाल्यकालबाट जवानीमा प्रवेश गरे पछिका संझनाहरु सुनाउदै आमा यसो भन्नुहुन्छ । सान‌ै देखि भिरपाखामा घाँस कात्न जाँदा एक्लै गुणगुनाउने मेरो स्वभाव भएकाले अरुले गाउँदा    स्वरमा स्वरमिलाउन म तत्परता देखाउथें त्यसैले पनि मलाई गाउमा धेरैले मैना भन्थे । जुवारी( जुहारी) गीत गाउन खपिस भक्तपुर  न्हाकंडोल गुण्डुमा विवाह भ‌एर गएका नानीम‌‌ैया नामकी सानी आमा विवाह भ‌एर जानू भन्दा अगाडि सम्म वहाँ जहाँ जहाँ जानू हुन्थ्यो मलाई संग संगैलगेर जुवारी गीत गाउनु हुन्थ्यो । हामी दुईले गाएको गीतको भाका र स्वर सुनेर सब‌ै लट्ठनै हुन्थ्यो । गीतका भाकाहरु तामाङ र खस नेपाली दुबैमा हुन्थ्यो । हामी नेवाः भएता पनि नेवाः गीत एउटा पनि गाएको संझना भने छैन , जति गाएँ सब‌ै तामाङ र खस नेपाली भाकामा मात्र गाएँ ।
दुःखकष्टको कालो बादलले घेरीन्दै गयो कलकलाउदो जवानीको रसस्वाद....
अघाउने गरि रमाउन नपाउँदै   लगभग १४ , १५ वर्षको उमेरमा पिताको स्वर्गवास हुनुभयो । त्यसपछि घर परिवारमा दुःखकष्टको कालो बादलले घेरीन्दै गयो  । बाबुको जिम्मावाल खोसियो, सयमुरी धानको बिउ लाग्ने धान खेत पनि छातीबाट खोसियो अनितः घरब्यवहार गर्न कामको खोजिमा हिड्न  बाध्य हुँदै गयो । बुबाको भन्जा नाता पर्ने गाउँकै श्यामलाल दाजु बनेपामा खाद्यपसल राखेर बस्नु भएकोले वहाँको घरमा गएर काम गर्न थालें । काम गरेर आएको ज्याला बाट घरखर्च चलाउँने गरेको कुरा आमा बताउनुहुन्छ । काम खासै त्यति गाह्रो नभएको बटाउँदै आमा भन्नू हुन्छ । तिनकातिन घ्यूका तिनहरु खोल्दै घ्यू खार्ने काम गर्ने गरेको बताउनुहुन्छ । घ्यूको तीन खोल्ने क्रममा राम्रो घ्यू परेपछि हलुवा खाएझै काँचो घ्यू खाने गरेको कुरा बताउने गर्नुहुन्छ आमा । आमा भन्नूहुन्छ, तिमिहरुले हलुवा के खान पाउनु मैले घ्यूको काम गर्दा घ्यू धेरै खाएको छु । श्यामलालदाईले पनि पचाउन सके जति खाए पनि हुन्छ खानु तर पच्ने सम्म खानु भन्नू हुन्थ्यो ।   त्यसैले पनि घ्यू खाने गरेको कुरा बताउँदै भन्नू हुन्छ , काँचो घिउ डल्लाका डल्ला खाँदा पनि त्यो बेलामा पच्ने गरेको  । अरु पनि कामदारहरु भएको तर उनिहरुले भने घ्यू पचाउन नसकेको,  बिहान दिशा गर्दा घ्यूनै घ्यू दिशा गर्ने गरेको बताउनु हुन्छ आमा ।
वैवाहिक  जीवनको पहिलो गाँसमै ढुङ्गा
       आफ्नो बिवाहित जिन्दगीका बारेमा यसरी  बताउने गर्नुहुन्छ  - दिदी बालकुमारी भक्तपुर स्थित तेप्चो ट‍ोलका  शंख्रासि  ... संग विवाह भए पछि दिदिक‌ै प्रयासमा भक्तपुर भार्भाचोका विधुर पूरुष राम बहादुर सिकर्मी शिल्पकार संग  दोस्रो पत्नीकारुपमा भित्रियौ । विवाहको कुरा चलाउँदा देखाएको केटा अर्कै थियो, तर लगनगाँठो कस्दा भने अर्कै पूरुष त्यसमा पनि आफू भन्दा पनि धेरै उमेरको । तैपनि आफ्नो घरको नाजुक अस्था संझेर जे जस्तो छ त्यसैलाई स्विकार गर्न बाध्य हुनु पर्यो । मेरो आमा आज पनि आफुले जिवनमा भोगेका दुःखका कुराहरु सुनाउने क्रममा भन्ने गर्नु हुन्छ - यसरी मेरो वैवाहिक  जीवनको पहिलो गाँसमै ढुङ्गा देखियो ।
         आमा आफ्नो जीवन कथा सुनाउँदै हामीलाई भन्ने गर्नुहुन्छ । तिमिहरुका पिताको पहिलो पत्नी तिमिहरुका जेठी आमा मोहनमायाको कोखबाट तीन छोरा छोरी   जन्माएर बित्नु भएको रहेछन् ।   जेठो छोरा तिमिहरुका दाजु प्रेम बहादुर साबालक भ‌सकेको भएता पनि तिम्रा दुई दिदिहरु चम्पा र बशुं भने नाबालिक नै थियो ।
४ 
सौतेनी छोरी चम्पाको कहिले  बिर्सन नसक्ने गुण
      मेरो माइती कम्जोर थाहा पाएर  होला तिमिहरुका ठूलीआमा पुनमायाले पहिलो दिन देखिनै मलाई  हेपाहा दृष्टि राख्न थालेको मैले महसुस  गरेको थिएँ ।  जेठानी खराब भए पनि सोताकी जेठी छोरी चम्पा सानीनै भए पनि अलि परिपक्वता भएकीले मलाई साथ दिन्थे ।  गर्भवती अवस्थामा पनि ठूली आमाले मलाई राम्रो संग खान नदिइकन काम मात्र जोत्ने गरेको देखेर  सौतेनी छोरी चम्पा भँडारबाट चिउरा चोरेर मैले बानेर राखेको पटुकाको पोल्टामा माना दुईमाना राखेर कसिदिने गर्थें ।  त्यहि चिउरा फाँक(फाँको )मारेर खान्द‌ै तान बुन्ने र खेतमा काम जर्थे । मेरो पहिलो बच्चा गर्भवतीका समयमा  उचित खानपिन गर्न नपाएर प्रसव समयमा मैले भोगेको कष्ट सौतेनी जेठी छोरी चम्पाले राम्रोसँग बुझेको थियो । बच्चा जन्मु पर्ने समय भन्दा धेरै समय लगाएर जन्मेको नवजात प्यारो भाई  जन्मेक‍ो केही दिनमै बितेक‍ो दुःखद पीडा उनमा थियो । त्यसैले पनि दोस्रो पटकको गर्भवती भएको अवस्थामा छ‍ोरी चम्पा मेरो खानपिनमा ध्यान पुर्याउन्थ्यो । कहिले काहींत मेरालागि ठूली आमा संग पनि कराउन पछि पर्दैनन्थ्यो । अनित मेरो पक्षमा बोल्यो  भन्दै  ठूली आमा चम्पालाई भुत्ल्याउनु हुन्थ्यो । छोरी चम्पाले ढुकुटीबाट चोरेर दिएको चिउरा  खाएर म आफ्नो पेट भर्थे  । सायद त्यसैले होला दोस्रोपटकको प्रसव अवस्थामा त्यति कष्ट मैले भोग्नु परेन । दोसो पटकमा पनि छोरै जन्मेको थियो । भाई पाएर दुबै दिदिबहिनी खुसी थियो । सुत्केरीको अवस्थामा तमाखुको गन्ध आउने चाकु संग खाना खानु पर्ने मेरो बाध्यता महसुस गरेर चम्पा धुकुटीबाट  सुटुक्क पैसा चोरेर घ्यू चाकु किनेर लुकाएर राख्थे, अनि खाना खानेबेलामा अरुले नदेख्ने गरि भातभित्र राखिदिन्थ्यो । यसरी सोतेनी छोरी भएर पनि मैले कहिले बिर्सन  नसक्ने गुण लगाएकी छिन् तिनीले मलाई ।
जेठानीको यातना र जेठानीको दाजु अम्बिका र बहिनी मङ्गलमायाको अविस्मरणीय  माया
        जेठानी सधैं कचकच मात्र गर्थि सकेतः मलाई  काँचै निल्ने जस्तै ब्यवहार गर्थिन तर उसको दाजु अम्बीकाले मलाई आफ्नै सहोदर बहिनी जस्तै माया गर्थें । आमा भन्नुहुन्छ -   जेठानी पुनमाया र मेरो स्व. सौता मोहनमाया अम्बिका दाजुकै सहोदर बहिनी भएको र यताको चेली मेरो नन्द गणेशमाया उता अम्बिका दाजु संग र उताकी चेलीहरु पुनमाया र मोहनमायाक‍ो बिवाहा भने यता भएको रहेछ । यसरी अम्बिका दाजु दुब‌ै तर्फबाट नाता परेका थिए । दाजु अम्बिकाक‍ो पाँच बहिनीहरु मध्यका याछेंमा दिएका बहिनी मङ्गलमायाले पनि मलाई आफ्नै बहिनी सरहन‌ै अति माया गर्नुहुन्थ्यो । एक दिनको कुरा हो अम्बिका दाजु घरमा आउनु भएको थियो । त्यो दिन जगाती वासिकचामा रहेको हाम्रो मोहियानी हकको आठ नौ रोपनी खेतमा धान रोप्ने भएकाले घरमा पाउनाहरु धेरै थिए । सिनांज्या( रोपाई)मा जान नन्दका छोराहरु नारायणभक्त, हरिभक्त र लक्ष्मीक्त समेत घरमा आउनु भएको थियो । सबैजना खाना खाने तयारीमा थिए । मेरो जेठानी/ तिमिहरुका ठूलीआमा सधैझै बिनाकारण  म संग कराउँदै दाजुकै अगाडि मेरो मुखमा धारेहात लगाउँदै के थुक्न खोजेको मात्र थियो दाजु अम्बिकाले आफ्नो बहिनीको गालामा एक चड्कन डनकाई हाल्यो । अनितः के थियोर मेरो माइती नै हड्प्यो भन्दै टोलनै थर्काउने गरि रुन थाल्नु भएको थियो भनेर हामाीलाई भन्नुहुन्छ । आमा आज पनि भन्ने गर्नुहुन्छ , मेरो घरपरिवारले दिएको यातना र मैले भोगेको कष्ट देखेर त्यसको  लाभ उठाउँदै मेर‍ो मन भाँड्ने नियतले हाम्रै कुलको जजमानी गर्दै आएका पुरेत समेतले पनि सुनका गहनाका पोका देखाउँदै मलाई लोभ्याएर फकाउने असफल प्रयास गरेका थिए ।
अपुताली खान  जेठानले मर्न लागेको अपुतो भाईबुहारीलाई घरबाट निकालियो
         गाउँमा आमा र बहिनी मात्र थियो । बहिनी चन्द्रको पनि बिवाहा भएर गएपछि घरमा आमा एक्लै भईन् । एक्ल‍‍ो हुनु भएका आमाले बिस्तारै  खानपिनमा लापरबाही गर्दै जानू भयो । समयमा खानपिनमा गर्न नसक्दा बिस्तारै बिस्तारै आमाको शरिर र आँखाको दृष्टि कम्जोर हुँद‌ै  पछि आँखा नदेख्ने अवस्थामानै पुग्नु भयो । आँखा नदेख्ने सम्मकोअवस्थामा पुगेक‍ाले आमाले अति कष्ट  खेपेर  बित्नु भएको भनेर  बताउनु हुन्छ आमा ।  दुःखका कुराहरु बताउँदै आमा भन्नू हुन्छ एक मात्र भएको भिन्न बसेका ठूलो बुबाले आमाले नङ्ग्रा खियायेर रोपेको मकै सम्म खान नपाउने गरि आमा हेराथकुको मृत्यु पछि घरबार सबै हस्तक्षेप गरेर लुटेर जन्मघरमा पस्न सम्म पनि  नदिएको भन्ने पिडाडायक कथा सुनाउनु हुन्छ आमा ।

           आमाको मृत्यु हुँदाका   दुःखद घत्नाका बारेमा बटाउँदै आमा भन्नुहुन्छ  -  आँखा नदेख्ने अवस्थामा पुगिसकेकी बृद्ध आमा घरमा एक्लै बस्न बाध्यता थियो । तीन वटै छोरीहरु आ-आफ्नो घरमा । आँखा नदेख्ने एक्ली बृद्ध घरमा बस्दा खाना पकाएर ख्वाउने सम्म पनि कोही थिएन। आमा भन्नू हुन्छ मेरो आमा ज्यापुको छोरी बुबा श्रेष्ठ भएर बुबाका दाजु लालबहादुरले मथ्याम्ह भनेर वास्तानै गर्दैनथ्यो । भात पकाउने प्रयासमा चामल कसौंडीमा राख्ने क्रममा भुईमा र आग‍‍ोमा खसाल्नु हुन्थ्यो । अनि छ‍ोरीलाई बोलाउँद‌ै एक गाँस भात ख्वाउनन आउन छोरी भन्द‌ै रुने गर्नुहुन्थ्योरे । आमा भन्नुहुन्छ गाउँमा हाम्रो घर र अन्य गाउँलेहरुको घरको दूरी टाधा टाधा थियो त्यसैले पनि आमाको स्थितिका बारेमा गाउँलेहरुलाई त्यति जानकारी हुँदैनथ्यो । हाम्रै घरको बारीमा छाप्रो बनाएर एक दमाई परिवार बसेका थिए। आमा जाँदा घर अगाडिको दमाईले भन्नू हुन्थ्यो कति दिन सम्मत आमा घरबाटै बाहिर  निस्कनु हुन्नथ्यो ।  दमाई भन्थे, म दमाई परें, घरभित्र पसेर आमालाई ख्वाउन । मानववियताले घरभित्र पसेर केही ख्वाउन पनि समाजको डरले  असमर्थ भएको भन्दै आत्मा ग्लानी भएको कुरा सुनाउनु हुन्थ्यो । 
      महिनामा एक पटक  आमालाई भेत्न म घर जान्थें । घर जान एता धेर‌ै कुराको बहानाबाजी गर्नु पर्थ्यो, नत्र जान पाउदैन ।  एक दिन गाउँमा आमा बिरामी छ भन्ने खबर आयो । त्य‍ो बेला मेरो बहिनी तिमीहरुका सानी आमा चन्द्र पनि यतै भक्तपुरम‌‌ै थियो । म गर्भवती थिएँ, गर्भमा छोरी पुष्प थियो । तीनचार वर्षका छोरा तिमीहरुका दाई  रमेशलाई बोकेर बहिनी चन्द्रलाई साथ लिएर हामी घर गयौं । दिनरात हिडेर घर युग्यौ । आमा को शरीर शिथिल  भ‌‌ैसको देखें । हामी पुगेको थाहा पाएर ठुलोबुबा घरमा आएर आमालाई लिएरजा यहाँ नराखकि नराख भन्द‌‌ै दबाब दिनुभो ।    अंश लिईभिन्न बसेका जेठानले छोरा नहुने भाईबुहारीको अपुताली खान पाउछ भन्द‌ै  आमाको घरजग्गामा हक जताउँदै बलजफ्ती  आफ्नै घरबाट घरबाट जीवनको अन्तिम अवस्थामा पुगेका आँखा नदेख्ने  भाईबुहारीलाई निकालियो । त्यो समयको सामाजिक परिवेशका कारण भनौ अथवा गाउँमा अन्यायको बिरुद्ध बोल्ने कोहि नभएर हो, हामीलाई कसैले पनि साथ दिएनन् । अनित आमालाई भक्तपुरम‌ै लाने बाहेक अरुकुन‌ै विकल्प नै पाएनौ ।
        आमा आज पनि हामीलाई भन्नुहुन्छ - आमालाई भक्तपुरमा लाने निधो भएपछि आमाको शरिरमा देवी चढेर  , तिमीहरुले मलाई चिन्छ म तिमीहरुको अजिमा हो, तिमीहरुले आफ्नो आमालाई नलैजाउ, लगेमा बाटोमै मर्नेछन् नलैजाउ भन्नुभएको थिय‍ो । तर के गर्ने ठूलोबुबाले आमा लैजा लैजा भन्दै घरको ढोकामा तालानै लगाई दिनुभयो । त्यसैले आमालाई बोक्न एकजना र घरमा भएका केही अन्न मकै, भतमाास कोद‍ो लगायत अन्न बोक्न तिनजना समेतगरी चारजना  भरियाहरुको व्यवस्था गरेर आमालाई डोकामाराखेर बोकाएर भक्तपुर तर्फ लाग्न बाध्यनै हुनु पर्यो । यसरी आफ्नै घरबाट निकालिएर भक्तपुरतर्फ आउँद‌ै थियौ ।  नम्रा नपुग्दै  बृद्ध आमा कराउन थाल्नुभयो, मलाई गाह्रो भय‍ो, भएन मलाई तलभुईमा राख राख । अनि भरीयाले एउटा ठूलो रुखको छहारीमा बिस्तारै डोकोबाट निकालेर तल भुइमा राख्नु भयो । डोकाबाट निकालेर आमालाई मैले आफ्नो शरिमा आड दिएर बसालेर राखें । अनि एकहातले अँगालो मारेर एकहातले आमालाई पानी ख्वाएँ तर आमाले पानी निल्नु भएन र शरीर पुक्लुक्क धल्यो र बित्नु भयो । यसरी आफ्नै घरबाट आमाको जेठान लालाबहादुरले बलजफ्ती गरेर मर्न लागेको मेरो बृद्ध आमालाई घरबाट निकाला गरेर बाटोमा मर्न बाध्य बनाई दियो । 
गर्भवती भएका कारण आमालाई दागबत्ती दिन पाएन
          आमा बितेपछि बहिनी चन्द्रलाई भक्तपुरमा तिमीहरुका बुबा  र मेरो दिदी बालकुमनरीलाई खबर गर्न एक्लै पठाएँ । नम्रा नपुग्दैको त्य‍ो ठाउँमा केही घरहरु थिए । मेरो आमा बाटोमै बितेको बहिनी आफन्त बोलाउन भक्तपुर गएको थाहा पाएर त्यहाँका मानीरहरु भेलाभई रातभरी  आगोबालेर मेरो आमाको देह र मेरो सुरक्षामा बसे । आमा भन्नुहुन्छ , यता रुन्दै भक्तपुरमा दिदी भिनाजुहरुलाई बोलाउन गएक‍ो एक महीलालाई देखेर बतासेका एक महीलाले यथार्थ सब‌कुरा थाहा पाए पछि रात पर्न लागेको समयमा एक्लै जानहुन्न भन्दै रोकेर त्यो रात वहाँकै घरमा वास राखेर त्यसको भोलि प्रभातकालमा मात्र पठाए छ ।
      भक्तपुरमा तिमीहरुका बुबा घरमा नभएको र भिनाजु संख्रासीले यो दुःखद खबर पाउनासाथ सालीसंग नम्रातर्फ लागेर आईपुग्नु भयो । दिदी बालकुमारी चाहिँ केकति कारणले नआएको हो थाहा पाएन । भिनाजु आईपुग्नु भए पछि नम्राका मानीसहरुको हारगुहारमा माथी डाँडामा लगेर अन्त्यष्टि गरियो । आमालाई दागबत्ती भिनाजुलेनै गर्नु भयो । मैले दागबत्ती दिन खोज्दा स्थानीय मानीसहरुले गर्भवतीस्त्रीले  दागबत्ती दिन हुन्न भन्दै रोकेकोले भिनाजुले आफ्नो सासुलाई दागबत्ती  दिनु भयो । यसरी कुनै समय गाउँकै एक जिम्मावाल मानकाजीको पत्नी बाटोम‌‌ै पुक्लुक ढलेर प्राण त्याग्नु भएर आफ्नै घर र आफ्नै दिप हुँदा हुँदै पनि बाट‍ोमा प्राण त्यागेर दिपबिहिन डाँडामा अन्त्यष्टि भई यो पंचतत्वको शरिर खरानी भएर पुनः पंचतत्वमानै बिलाउनु भयो । बिरामी आमा हेर्नगएक‍‍ो थिएँ तर नम्राको डाँडामा आमाको शरीर भस्म गरेर  आमाको संझनामाँत्र लिएर घर फर्के । तिनजना भरियालाई बोकाएर ल्याए अन्नको सबै भारी भिनाजुले आफ्नै घरमा भित्र्याउनुभयो ।
६  आमाको मृत्यु उपरान्त जन्मथल‍ोमा कहिले फर्केर गएन
        आमाको मृत्यभएक‍ो एक महिना पछि एकटक भिनाजुसंग आमा गाउँमा गएको बताउदै आमा भन्नुहुन्छ ।  गाउँको आफ्नो मकैबारीमा गाउँकै मानिसलाई  बाली गर्न दिईराखेको थियो । त्यही मकैबाली उठाइ मृतक आमाको श्राद्ध गर्न खर्च व्यहोर्न भनेर लिन गएक‍ो थिएँ तर सबै मकै ठूलोबुबाले लगि सक्नु भएछ । ठूलोबुबाका गएर हामीले  पाउनु पर्छनि भन्दै विन्तिभाउ गर्दा पनि एक गेडा सम्म पनि दीएर पठाउनु भएन । हामी रित्तै फर्के । त्यस दिन देखि कहिले जन्मथलोमा फर्केर नगएको बताउनु हुन्छ  आमा । यता भिनाजु र दिदिले पनि गाउँ बाट तिनजना भरियालाई बोकाएर ल्याएको अन्न सबैमा सासुआमालाई दागबत्ती दिए बापट हक जनाउनु भयो ।
घरजग्गा सग‍‍ोलमै रहने गरि  दुई चुलो
      यता मेरो लोग्नेको घरको व्यवहार त्यहि थियो । जति जोतिएर काम गरे पनि मैले जस पाउन्न थ्यो ।  ***  सौतेनी छ‍ोरी तिमीहरुका ठूलदिदि चम्पा घर अगाडि नचाउन ल्याएक‍ो सांस्कृतिक दबु प्याखँका कलाकार गिरगोबिन्द चौगुथी संग आँखा जुडाउँदै उनी संगै प्रेमपाशमा बाँधेर गन्धर्वविवाह गरि गईसकेका थिए *** । आमा भन्नुहुन्छ-  तिमीहरुका ठूलो बुबा र ठूली आमा संग तिमीहरुको बुबा बिच पनि मनमुताब बढ्दै  गएकाले अन्ततः  दुई दाजुभाई बिच भिन्न भयो । चल सम्पत्ति बण्डा भए पनि अचल सम्पत्ति सगोलमा रहने गरि  भिन्न बसियो । एउटै घरमा दुई चुलो बल्न थाल्यो । तर पनि जेठानीक‍ो चित्त बुझिएन हाम्रो कोठामा सामान राख्दै मिच्दै ल्याय‍ो र अन्त्यमा त्यो कुलघरबाट हामी बाहिरिन बाध्यनै भयो । भाग बाण्डमा परेको रकमले भार्भाच्व ध्वाका बाहिर एउटा सान‍ो दुईतल्लाको घर  लिएर जीवन निर्वाह गर्न थाल्यौ । ध्वाका बाहीरको नयाँ घरमा म प्रकाश र  भाइ जन जन्मेक‍‍ो कुरा बताउँदै  आमा भन्नुहुन्छ -  नयाँ घरमा अलि शान्त संग हाम्रो परिवार बसेको देखेर आँखा गाड्दै त्यहाँ पनि जेठानीले  हाम्र‍ो घरमा पसल कवलमा चामल पसल राख्दै बिस्तारै मिच्दरै आउनु भयो । हाम्रो घरमा जेठानले चामल पसल ख‍ोलेर घर मिच्न आएपनि जेठानी तिमीहरुका ठूली आमाको व्यवहार भने सुध्रिएक‍ो थियो । तिमीहरुलाई माया गर्थ्यो अनि मसंग पनि राम्रै व्यवहार गर्ने गर्थें । जेठान र जेठानीका तीन सन्तानहरुमा जेठा छोरा तिमीहरुका दाजु रत्नभक्त र दिदी रत्नले पनि हामीलाई  राम्रै व्यवहार गरिए तापनि तिमीहरु ठूल‍ो बुबा र दाजु हरिभक्तले भने कपटपूर्ण व्यवहार गर्ने गरेको कुरा भन्नुहुन्छ ।   
भ्याकुर कण्डमुल खोजेर ल्याई तिमीहरुलाई ख्वानउने गर्थें
          तिमीहरुका बाबु र दाजु काठमाण्डौमा  कर्मी काम गर्न जान्थे भने म घर र खेतमा काम नभएको समयमा  ज्यामी काम गर्न  नःपुखु बिद्युत जेनेरेटर घर निर्माण कार्यमा ज्यामी भै काम गर्न थाल्यें। ज्यामी काम गरे बापट एकदिनको तीन मोहर पारिश्रमिक पाउथ्यो । त्यो पैसाले घर चलाउदै आएँ । ज्यामी काम नहुँदा कपडा पसलबाट धागो ल्याएर  तानमा कपडा बुन्ने काम गरे । आएको पैसाले पसल पसलमा लिएक‍ा उधारोहरु तिर्दै जान्थें । कुनै काम नहुँदा घरमा चुलो बल्दैनथ्यो । खेतपाखामा गएर भ्याकुर कण्डमुल खोजेर ल्याई तिमीहरुलाई ख्वानउने गर्थें । नयाँ घरमा बस्न आए पछि तिम्रो बशुं दिदी पनि थुचय्को राम चन्द्र शिल्पकार संग प्रेमबिवाहा गरि गएका थिए । बशुं दिदी पनि प्रम बिवाहा गरि गए पछि घरमा तिमी प्रकाश भाइ जन पुष्प दिदिको रेखदेखमा राखेर म काममा जान्थे । काम सधैं हुन्नथ्य‍ो। काम नभएको बेलामा घरमा चुलो बल्न गाह्रो हुन्थ्य‍ो
       कहिले काहीँ तिमीरहरुको ठूली आमाले तान् बुन्ने धागो तुकि काट्ने काम गरिदिए बापट एक लच्छी धागोको एकमाना कनिका दिन्थ्यो । त्यहि कनिका पकाए  तिमीहरुाई ख्वाउथ्यें बंशगोपालको डबल साहुको , भगत साहुको पसल भार्भाचोकै चन्द्रलाल साहुको पसल समेत बाट कहिले काहीं  चामल पिठो उधारोमा ल्याएर तिमीहरुलाई ख्वाउथें । कहिले काहीं चामल पिठोमा पैसाहरु पनि आउने गर्थ्यो । ती पैसाहरु म पसलमा लगेर चामल पिठोमा आएको पैसा भनेर फिर्ता दिन जान्थें । त्यसैले सब‌ै पसलेहरुले मलाई विस्वास गर्थ्य‍ो ।  काम गरेको ज्याला रकम महीना महीनामा आउथ्यो । ज्याला आए पछि क्रमै संग सबै उधारोको पैसा तिर्दै जान्थें । एक पटक बिद्युत जेनेरेटर भवन निर्माण ठेकेदारलाई डाका लागेछ । डाकाहरुले हामी कादारहरुलाई दिने ज्याला रकम समेत ठेकेदारबाट लुतेको रहेछ । दुई महीना सम्म हामीले ज्याला पाएनौं ।  त्यस अवधिभर घरमा खानाको निकै समस्या परेको थियो । तैपनि म कस‌ैसंग हात थाप्न गएन ।
एक महिना सम्म अन्न मुखमा नराख्दा पनि म मरिएन
        काठमाण्डौमा काम गर्न गएका त्यतै कोठा लिएर बस्थे । यता घमा कहिले काहीँ आएपनि घर ब्यवहारमा सहयोग पाउन्नथियो । तिमी छोरा प्रकाश जन्मन्दा सुत्केरी भएको महिना दिन नपुग्दै धानको बोरा उठाउनु पर्थो । जसका कारण पछि गएर आङ खस्ने रोगले समात्यो ।  तिम्रा बाबू र दाजुको बाहिर काम नहुँदा पनि घरको कामकाजमा कहिले सहयोग पाउन सकिएन ।  काम नभएर घरमै बस्दा बिनाकारण झगडा हुन्थ्यो । तिमीहरुका बुबा कुरा गर्नमा भने बालिस्तरनै थियो तर घरको काम भने एक सिन्का पनि भाँच्दैनथ्यो ।  आमा भन्नुहुन्छ - तिम्रो बुबा संग झगडा परेर मैले एक महिना सम्म अन्न मुखमा नराख्दा पनि म मरिएन । आमा भन्नुहुन्छ , म आफुलाई बाहेक अरु सबैलाई खाना पस्केर ख्वाएर सबैको अगाडिनै भाँडा पखाल्दा सम्म पनि तिम्रो खाना खै किन नखाए भनेर कहिले  सोधिएन । यसरी एक महिना सम्म चलेको थियो ।                                                 ७     घरमा खान सधै धौधौ पर्ने -

      हाम्रो बुबाले देह त्याग गर्नु पूर्व सन्ध्याको रात सम्झँदै  आमा भन्नुहुन्छ - बुबा बनेपामा बस्दा दिशा गर्ने क्रममा सर्प जस्तै जीव आएको भनी घर आउनु हुँदा भन्नू भएको थियो । अनि त्यस दिन देखिन‌‌‌‌ै बिरामी पर्द‌ै जानू भयो । हामीले तिमीहरुका बुबालाई भक्तपुरकै अस्पतलमा भर्ना गरि उपचार गर्ने प्रयास गरीयो । बिरामी  मान्छे अस्पतालबाट बाहिर आएर  बाटो बाटोमा सुकाईराखेको खुर्सानी सुटुक्क गोजीमा राखेर लगेर खाना खाँदा खुर्सानी टोक्दै खान्थ्यो । अनित रोग बल्झिन्दै गय‍ो । एकदिन अस्पतालबाट भागेर आउनु भय‍ो । तिमीहरुका बुबा भन्दै थियो, डाक्टरहरु एक आपसमा कुरा गर्दै यसको रोग निको हुनेवाला छैन । त्यस‌ैले यश बिरामीलाई सुई हानेर सुताउन पर्छ  भन्दै गरेको सुनेको अनि भागेर आएकोरे । मर्न‌ै परे घरमै पर्छु भनेर मत घर आएँ भन्नुहुन्थ्यो ।
ल‍ोग्नेको हातबाट सुको प‌ैसा थाप्न नपाए पनि आफ्नो कमाइ भने लोग्नेको हातमा  राखेको छु  
      अस्पतालबाट भागेर आएक‍ो केहीदिनम‌‌ै ओछयानमा थलिनु भयो । ओछ्यानमा थलिए पनि कुरा भने बालिस्तरले बोले जस्तै हुन्थ्यो । ओछ्यान थलिए पछि तिमीहरुका बुबाको अनुहारमा चिन्ताका रेखाहरु कोरिन्द‌ै गएको देखिन्थ्यो । दिनभरी म ज्यामी काम गरेर बिरामीको सेवा गर्दै आएको थिएँ । तिमीहरुका प्रेम दाइ पनि बुबा बिरामी भए देखि भक्तपुर ईनागलमै पूर्णभक्त मामाको कारखानामा काम गर्न थालेका थिए। एक दिन बिद्युत जेनेरेटर भवन निर्माणका ठेकेदारले दुई महिनीको ज्याला एकमुष्ठ दिएको थियो । त्यो रकम सरासर घर गएर  ओछ्यानमा थला परिरहेका तिमीहरुका बुबाको हातमा राखी दिएँ । एक छिन्नत तिमीहरुका बुबा मैले हातमा राखिदिएको पैसा हेरेर ट्वाल्लनै पर्नु भयो । एकछिन पछि पैसालाई ढोग्दै आँखाभरी आँसु राख्दै जिन्दगीमा मैले तिमीलाई कहिले आफ्नो कमाई तिम्रो हात राखेन । तर आज तिमीले आफ्नो कमाई मेरो हातमा राखिदियो भन्द‌ै मलिनस्वरमा भन्नुभयो र प‌‌ैसा मलाईनै फिर्ता दिनु भयो । त्यस दिन पछि झन झन सिकिस्त  हुन्द‌ै गय‍‍ो । सिकिस्त थलिए पछि बिरामी कुर्न आफन्तहरु आलोपालो गरि रातमा बस्न थाल्यो । एकरात तिमहरुका लालबा बिरामी कुरुवा बस्नु भएको थियो । खै के कारण हो अहिले सम्झना भएन ओछ्यानमा थलिरहेको तिम्रो बुबाले मलाई लात्तीले हान्नुभो । अनि लालबा रिसाउँद‌ै बिरामीाई गाली गर्दै, यस्तो अवस्थाका पनि आफ्नो पत्नीलाई त्यस्तो ब्यवहार गर्ने हो ? मनमा अलिकति पनि रगत छैन ? यस्त‌ै हो भनेे भोलि देखि हामी कोहिपनि तिम्रोलागि यहाँ सुत्न आउने छैन भन्दै बिरामीलाई गाली गर्नु भयो । नभन्द‌ै भोलीबाट राती बिरामी कुर्न कोही पनि आएनन् ।
        एक दिन बिरामीलाई ख्वाउने दूध नईनी(  दूध ल्याउने खड्गीनी)ले बेलुका ढिलो ल्याएको थियो । म दिनभरी ढुङ्गा कुट्ने काम गरेर थाकिएको थियो । दुध उमाल्न भ्याएको सम्म थिएन । घरमा पानी थोपा पनि थिएन। त्यसैले छोरी पुष्प र म पानी लिन घरबाहिर धारमा जाँद‌ै  थिएँ  । तिम्रा दाजुले दुध ततार मात्र पानी लिन जानू भन्दै थियो । म भने राती भैसकेक‍ोले पहिला पानीनि लिएर आउछु, अबेर भैसक्य‍ो भन्द‌ै गाग्री  च्यापेर निस्कनलागेको थिएँ । तिम्रो प्रेमदाईले गाग्रीनै खोसेर बाटो छेक्दै पानी लिन पठाएन । घरमा बिरामी छ , एकथोपा पानी छ‌ैन म पानी लिन जान्छु दूध तिमीले पनित तताए पनि हुन्छनी भन्दै म पनि कराएँ । मैले त्यसो भनेपछि तिम्रोदाईले मलाई घरबाट निक्लिजा भन्न थाल्यो । विवाद बढ्दै गयो । घरमा थोपा पानी थिएन । बिरामीले पानी  खान खोजेमा पानी छैन भन्दै म‌ैले सानो तामाको  घ‌‌ैटामा भए पनि पानी लिएर आउनु भनी राति तिम्रो पुष्प दिदीलाई एक्लैन‌‌ै पठाएँ । घरमा भने दाईले घरबाट निक्लि भन्द‌ै दबाब दिन्द‌ैे गयो । धारामा पानी लिन गएकी बहिनी समेतलाई धारामै पुगेर घैँटो त्यहि धारामै छाडेर जबर्जस्ती घरमा ल्याइयो । घ‌ँटो त्यसै छाडेर दाईले ल्या‍यो धारामा  कोही छैनन् भन्दै  तिम्रो दिदी रुनु भयो । म पनि जबर्जस्ती धारामा गएर घैँटामा पानी भरेर ल्याएँ । घरमा आएर दूध तताएर बिरामीलाई ख्वाए । यति दूध तताएर तिमीलेे पनि बुबा ख्वाउन सक्छौनी भन्दै म रुन्दै कराए ।
      म धेरै कराए पछि तिम्रो प्रेम दाई चुप लाग्दै खुुसुक्क सुत्नु भयो । म पनि दिन भरी ज्यामी काम गरेर  आएको । सौता छोराले घरबाट निक्लिजा भन्दा मलाई सारैनै चित्त दुखेको थियो । त्यस‌ैले म घरको पछाडि पतिको झ्यालमा बसेर धेर‌ैनै रोएँ । म रोएको आवाज सुनेर फिगःचामा बस्नुहुने दिरिअजि किन रोएको छोरी भन्द‌ै चिच्याएर सोध्दै गरेको सुने । रात पर्दै गएको थियो बिरामीलाई सायेद छाती पोल्दै दाहा हुन लागेकोले होला पानी पानी भन्दै संगै सुतेको छोरालाई भन्दै थियो । धेरैबेर सम्म पानी पानी भन्दा पनि संग‌ै सुतेको छोराले उठेर पानी ख्वाएन । धेरैन‌ै भए पछि म झ्यालबाट उठेर गएर पानी ख्वाएँ । तिम्रा बुबा भन्दै थियो , कति कराएँ प्रेम उठेन तिमी भखर रुन बन्द गरेको थियो त्यसैले तिमीलाई नबोलाएको भन्द‌ै पानी खानु भयो ।
        तिम्राबुबाले छिन छिनमा पानी माग्द‌ै खानथालेको थियो । यसरीन‌ै रात बित्यो । बिरामी बाबू संग संगै सुतेको छोरा बिहान उठेर बुबाको अवस्थानै नहेरी घरबाट निस्केर कारखानाका काम गर्न गयो ।  आमा भन्नुहुन्छ  - सानो छोरा जनलाई बिरामी बुबा,संगै राखेर म पनि बिहानको नित्यकाम लागेको थिएँ । छिन छिनमा बिरामीको अवस्था पनि हेर्ने गर्दै थिएँ ।तिमीहरुका बुबाको अवस्था भने झनझन नाजुक हुँदै गएक‍ो देखिन्थ्यो । छिन छिनमा पानी माग्दै पानी खाने बिरामी मौन बसेको देखेर घचघचाएर हेरें आँखा पुक्लुक हेर्नुभयो मैले पानी ख्वाएँ , छोरा जन बाबू संगैनै थियो । मुखमा राखि दिएको पानी तिमीहरुका बुबाले पानी निल्न सक्नु भएको थिएन । बिरामीको अवस्था अति गम्भीर भएक‍ो देखेर तिम्रो रमेशदाईलाई कारखानामा प्रेमदाई बोलाउन पठाएँ । बिरामीको अवस्था थाहा पाए पछि कारखानाबाट  पनि सबै मानीसहरु आएर बुबालाई हेरे । सबैले बिरामी अन्तिम अवस्थामा पुगिसकेको थाहा पाएर एउटा काठको फ्लाएकमा राखेर खोह्रेघाट तर्फ लगियो । घरमा तिमीहरुलाई मात्र राखेर म पनि पछि घाटमा गएँ । घाटमा लगेर सब‌ैले पानी ख्वाए तर पानी निल्न सकिरहेको थिएन ।  प्राण पनि त्याग्न सकिरहेको थिएन । तिमिहरुका ठूलो बुबा र ठूलोबुबाका छोरा रत्नभक्तदाई काठमाण्डौमा थियो । उनीहरुले पनि यो खबर पाएर सिघ्रनै आउनु भयो । घाटको शैयामा जिवनको अन्तिम अवस्थामा पुगेका आफ्ना भाईलाई भाई राम बहादुर हामी आएँ तिमी धन्दा नमान भन्दै दाजु र भतिजाले भन्दै पानी  ख्वाए पछि मात्र तिमीहरुका बुबाले प्राण त्यागेको थियो ।
क्रमशः
आठौं भाग
भक्तपुरबाट काठमाण्डौमा बसाइँ सराई
      राजनिती जान्नु पर्छ, बझ्नु पर्छ तर राजनितीमा लाग्नु हुन्न भन्ने तर जनवादमा विस्वास गर्ने तिम्री प्रेम दाई ।   परम्परा र संस्कार  अनुसारको आफ्नो बुबा बित्दा पनि कपाल खौरेर  बर्खी बसेनन् । घरमा हैकमनै तिम्रो दाजुको थिय‍‍‍ो । त्यसैले  उसले जे भन्यो त्यहीनै गर्नु पर्थ्यो । आफन्त र समाजको कुरै सुन्दैनन् थ्यो । जसोतसो  बुबाको पैंतालीस दिनको संस्कार सक्यो । केही दिन पछि  तिम्र‍ो भाइ जनलाई पनि तिम्रो बुबाले आफुमा तानेर लग्य‍ो ।
         बुबा र भाई जनको देहावसान पछि   घर खेत लथालिङ्ग हुनेगरी सबै तिमीहरुका ठूल‍ो बुबाको जिम्मा लगाई हामीलाई लिएर तिमीहरुका प्रेमदाईले काठमाण्डौको डिलिबजार मैती अजिमाको पूजारीको घरमा तिनवटा कोठा लिएर बहालमा राख्न ल्यायो । काठमाण्डौ आउँदा  तिमी पाँच पर्षोको थियो भने पुष्य दिदी आठ वर्षको मात्र थियो । त्यहाँ बस्दा म ज्यामी काममा जान नपरे पनि सुखको सास भने मैले लिन पाएन । तिम्रो प्रेम दाइ डिल्लीबाजमा अम्बिका मामाको अम्विका फर्निचर कारखानमा काम गर्थ्यो । रमेशदाई भने कहिले कतात कहिलेकता भागेर महिनौ सम्म पनि घरमै आउदैन थ्यो । उसकैलागि सध‌ै झगडा भ‌ैरहन्थ्य‍ो । अम्बिका मामा र घर अगाडि खाद्य पसल भएका नकली ज्यापू समेतले प्रेमदाइलाई धेरै पटक सम्झाए पनि प्रेम दाइ  घरपतिनीक‍ो बहकाउमा दायाँबायाँ लाग्ने गर्थ्यो । घरपति बज्राचार्यको स्वभाव राम्रो थियो तर उनकी पत्नी भने चण्डाल स्वभावकी थिईन् । केही वर्षमै अम्बिका दाजु बित्नु भयो । हामी मैतीदेवीको पूजारीको घरबाट डिल्लीबजार पिपल बोटबाट भित्री बाटो हुँदै मैति जाने बाटोमा पूर्व बनमन्त्री चुरा प्रशाद शर्माको घरमा दुई कोठा लिएर बस्न गयौ ।
     चुरा प्रशादको घरमा बस्दा मैले घरधनी शर्माको घरको काम समेत गर्नु पर्थ्य‍‍ो । सो काम गरेबापट कोठा भाडामा केही सहुलियत पनि पाउथ्यो । चुरा प्रशादको घरको घरकम्पाउण्ड भित्रै ६,७ रोपनी खेत  पनि थियो । त्य‍ो खेत अध्यायमा धान रोप्ने काम गरे ।  चुरा प्रशादको त्यो घरमा बस्दा हामीलाई घरमा खानलाउन खासै समस्या परेनन् । तिमीहरुका प्रेमदाईको एकजना मधेसी गुरु थियो जो लाजिम्पाट स्थित कुलबहादुर नकर्मि र माहीला तथा दशलाल महर्जन लगायत समेतका मोटर कारखानामा विशेष स्तरको मिस्त्रि काम गर्थ्यो । त्यहि मिस्त्रिकहाँ रमेशदाई लाई पनि मिस्त्रि सिक्न त्यहि बस्ने गरि राखेको थियो ।
गिदीनै थर्कने गरि चौर खनेर रोपेको तरकारी र मकै  खान नपाएको पिडा

         आमा भन्नुहुन्छ -  मिस्त्रि बसेक‍ो घरमा केही जग्गा थियो त्यो जग्गामा तिम्रा प्रेमदाईले मलाई तरकारी बाली लगाउन पठाउनु भयो । म त्यहाँ गएर चौर जस्तो वारि खनेर फर्सि, बोरी, मके लगायत तरकारी रोपें। मेरो मेहनतले तरकारी लहलहाउन थालेको थियो । फर्सिका लहराहरु लटरम्मनै थियो । फर्सिका केही मुन्टाहरु टिपेर ल्याएँ । फर्सिका मुन्टा स्वास्थ वदक हुन्छ भने यसरी केही मुन्टा टिप्दा फर्सिको लहरा अघि बढ्दै जानमा पनि लहरालाई निकास खुल्थ्यो । फर्सीको मुन्टा टिपेर तरकारी खाने हामी नेपालीहरुको स्वभाव भनौ वा चलननै थिय‍ो । तर मधेसीलाई म‌ैले फर्सीको मुन्टा टिपेको पचेन वा भनौ मेर‍‍ो मेहनतक‍‍ो फल हत्याइने बदनियतनै थियो उसको । लहलहाउदो तरकारी वारि मैले नष्ट गर्यो भन्ने उनले मलाई आर‍‍ोप लगायो । भोलि पल्ट मलाई घरक‍ो ढोका भित्रनै पस्न निषेध गरि फर्काएर पठाय‍‍‍‍‍ो । मेर‍ो जन्मथलो गाउँको।आफ्नो खेतबारीको बाली आफ्नै ठूलोबुबाले हदेपेर आन्याय् गरेको घट्ना मलाई पुनः स्मरण गरायो । गिदीनै थर्कने गरि चौर जस्तै अवस्थामा रहेको जमिन खनेर तरकारी बाली लगाउन य‍‍ोग्य जमिन बनाई मकै लगायत तरकरी रोपेर फल खाने अवस्थामा बारीमा मलाई पाईला सम्म पनि टेक्न नदिकन फर्काईयो । फर्कने बेला त्यो मधेसी मिस्त्रीलाई सक्नु सम्मको सराप्दै घर फर्कें ।        

टिप्पणियाँ